झुण्डिएका तार व्यवस्थापन गर्दै नेपाल टेलिकम

सूचना प्रविधि
Spread the love

बाग्लुङ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले शहरभरका पोलमा झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापनको कार्य सुरु गरेको छ । पोलमा यत्रतत्र रहेका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफा शहर बनाउने अभियान थालिएकाे हाे ।

याे अभियान अन्तर्गत शहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन नदिन बजार क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका सम्पूर्ण पुराना तार हटाइने नेपाल टेलिकम बाग्लुङ लेखा कार्यालयका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

यसरी निकालिएका पुराना तारलाई संकलन गरी लिलामी प्रक्रिया अनुरुप व्यवस्थापन गरिने टेलिकम बागलुङका लेखा प्रमुख दिनेश अर्यालले बताए ।

लिलामी प्रक्रिया अनुरुप उक्त तारहरु बिक्री गर्दा कम्पनीको राजश्वसमेत अभिवृद्धि हुनेछ भने शहरी सुन्दरतासमेत बढ्ने उनले बताए ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले यसअघि रहेको कपर नेटवर्कलाई विस्थापन गर्दै उच्च गतिको फाइबर नेटवर्कमा आधारित एफटिटिएच विस्तार तथा माइग्रेसनको कार्य सम्पन्न गरिसकेको छ ।

धौलागिरि अञ्चल (तत्कालिन) का चारवटै जिल्ला सदरमुकामहरुमा एफटिटिएच नेटवर्क विस्तार भई सेवा वितरण समेत भईरहेको छ ।

जसअनुसार बागलुङमा करिब तीन हजार, बेनीमा एक हजार दुई सय, पर्वतको कुश्मामा एक हजार दुई सय, र जोमसोममा करिब चार सय पचास लाइन विस्तार गरिसकेको दूरसञ्चार कार्यालय बागलुङका प्रमुख शर्माले बताए ।

नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा वितरण गरिरहेका अन्य इन्टरनेट सेवा प्रदायकहरु एवं केवल टेलिभिजन सेवा प्रदायक जसले पोल भाडा भुक्तानी गरेका छैनन्, ती सेवा प्रदायकको तारसमेत हटाइने जानकारी कार्यालय प्रमुखले गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *