काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा अहिलेसम्मकै सर्वाधिक कित्ताका लागि आवेदन परेको छ। आवेदक संख्याका हिसाबले पनि यसको सेयर सर्वाधिक धेरैजनाले माग गरेका छन्।
इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्री खुलाएको २७ लाख ३० हजार कित्ता सेयरका लागि दुई करोड २५ लाख ९१ हजार ९४० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लियरिङ नेपालले जानकारी दिएको छ ।
सीडीएसका अनुसार, असोज ११ गतेदेखि सर्वसाधारणलाई सेयर जारी गरेको जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन खुलाएको चौथो तथा अन्तिम दिनसम्ममा ८ लाख १४ हजार ७ सय जनाले आवेदन दिएका हुन्। यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा ६ लाख १४ हजार भन्दा बढीले आवेदन दिएका थिए।
जनरलको आईपीओ आवेदनको उल्लेखित संख्यामा बैंकबाट आवेदन दिएकाहरुको संख्या उल्लेख छैन । बैंकमार्फतका आवेदक र रद्द आवेदनको विवरण आउँदा उक्त संख्या केही थपघट हुने सीडीएसले बताएको छ।
कम्पनीको आईपीओमा ६ लाख ३३ हजार ८५ जनाले मेरो सेयरको वेबसाइटबाट र एक लाख ७७ हजार ७६२ जनाले बैंकमा फारम भरेर आवेदन दिएका हुन्।
प्राथामिक सेयर बजार पूर्ण अनलाइनमैत्री भइसक्दा अझै पनि बैंकमा नै धाएर सेयर भर्ने लगानीकर्ताको संख्या पनि ठूलो छ। सीडीएसका अनुसार कतिपयको मेरो सेयर खाता नवीकरण नभएकाले र कति लगानीकर्ता प्रविधिमैत्री नहुँदा पनि यसरी सेयर आवेदन दिनेको संख्या उल्लेख्य रहेको हो।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँअंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये एक लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ। कम्पनीको अधिकृत पुँजी दुई अर्ब र जारी पुँजी एक अर्ब छ। यसमध्ये संस्थापकका तर्फबाट ७० प्रतिशत सेयर कायम गरी चुक्ता पुँजी ७० करोड कायम छ। ३० प्रतिशत साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्नेछ।