काठमाडौं । पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ । एकपटक लगाएको मास्क फेरि प्रयोग गर्न नमिल्ने भएकाले हरेक दिन नयाँ–नयाँ मास्क फेरेर लगाउने क्षमता सबैको छैन ।
त्यसैले नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले मास्क निःशुल्क बाँड्ने अभियान सुरु गरेको छ । यो अभियानको सुरुवात कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार अपराह्न नयाँबानेश्वरबाट गरेका छन् । नयाँबानेश्वरबाट अभियानको सरुवात मात्र गरेको र शनिबारबाट काठमाडौंका मुख्यमुख्य सार्वजनिक स्थानबाट निःशुल्क मास्क वितरण थाल्ने नेविसंघले जनाएको छ ।
‘कोरोनाको महामारीको बेला सरकारले सबैलाई मास्कसमेत दिन नसकेकाले हामीले निःशुल्क बाँड्ने अभियान सन्चालन गर्नुपर्यो,’ नेविसंघका महामन्त्री मनोज वैद्यले भने, ‘यो अभियान सरकारप्रति जनाइएको सांकेतिक विरोध पनि हो ।’
नेविसंघले वितरण गरेको एउटा प्याकेटभित्र चारवटा मास्क छन् । सार्वजनिक स्थानमा भेटिने हरेक व्यक्तिलाई एक–एक वटा प्याकेट निःशुल्क वितरण गरिने छ । ‘निःशुल्क वितरण गर्नका लागि न डेढ लाखभन्दा धेरै मास्कका प्याकेट तयार पारेका छौं, नेविसंघ महामन्त्री वैद्यले भने। मास्कको प्याकेट भित्र कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सजगताका सन्देश लेखिएको पर्चासमेत राखिएको छ ।