काठमाडौं । सरकारले अहिलेको संकट र असामान्य समयमा अनशन बस्नु सुहाउँदो विषय नभएको भन्दै डा.गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा सबै एकजुट हुनेबेला जो कोही अनसन, धर्ना बस्ने लगायतका काम असुहाउँदो भएको बताउनुभयो । उहाँले डा.केसीले उठाउनुभएका धेरै मागहरु यसअघि नै सम्बोधन भई कार्यान्वयनको प्रक्रियामा रहेकाले दबाब दिइराख्नुपर्ने आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
“डा.केसीले उठाउनुभएका धेरै मागहरु यसअघि नै सम्वोधन गरि कार्यान्वयन प्रक्रियामा छ, चिकित्सा शिक्षा ऐन बनिसकेको छ, आयोग पनि बनिसकेको छ, नियमावली बनेका छन्”, प्रवक्ता ज्ञवालीले भन्नुभयो, “मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृतिको माग यसअघि नै पूरा गरि कार्यान्वयनमा छ, ७ वटै प्रदेशमा मेडिकल कलेजहरु खुल्ने काम जारी छ, स्रोत र साधनले भ्याएसम्म सरकारले गरिरहेको छ । बाँकी मागहरुका सम्बन्धमा पछि छलफल गर्न सकिन्छ, अहिले अनसन बस्न सुहाउँदैन, त्यसैले अनसन फिर्ता लिन सरकारको तर्फबाट म डा.केसीलाई आग्रह गर्दछु ।”
जुम्लाबाट अनसन सुरु गर्नुभएका डा.केसी अहिले त्रिवि शिक्षण अस्पतालमा अनसनरत हुनुहुन्छ । १८ दिनदेखि अनसनमा रहनुभएका उहाँको स्वास्थ्य अवस्थ जटिल बन्दै गएको उपचारमा सहभागी चिकित्सकहरुले बताएका छन् ।